युवा कवि मोतिराम भट्टको स्मृतिमा वाशिङटन डि.सि.मा कवि गोष्ठी सम्पन्न

नेपाली राजदूतावास वाशिङटन डि.सी.ले युवा कवि मोतिराम भट्टको स्मृतिमा १५ सेप्टेम्बर २०२४ का दिन एक कवि गोष्ठीको आयोजना गर्यो । राजदूत निवासको सभाकक्षमा आयोजित कवि गोष्ठीमा विभिन्न कविहरूले कविता वाचन गरेका थिए । तीन घण्टा चलेको कार्यक्रममा कविहरू वसन्त श्रेष्ठ, जगन्नाथ पौडेल, तारा पराजुली, अशोक नाथ तिवारी, मधुकर अधिकारी, होमनाथ सुवेदी, मनोज खड्का, शरद निरौला, पुष्पा खनाल, प्रेम सङ्ग्रौला, नीलकण्ठ सुवेदी, हरिराज भट्टराई, लोकनाथ तिवारी, तीर्थ पाण्डे, नारायण अधिकारी, वासु श्रेष्ठ, सीता पाण्डे, मञ्जु निरौला, प्रकाश नेपाल, सुदीपभद्र खनाल, प्रवीण खड्का, डी.बी. तामाङ, परशुराम तिमिल्सिना, काशिनाथ न्यौपाने, सन्तोष खरेल र गोविन्द गिरी प्रेरणाले कविता, गजल, मुक्तक आदि कविता विधाका रचना वाचन गरेका थिए ।

कवि गोष्ठीको उद्घाटन गर्दै कार्यवाहक राजदूत कुमार राज खरेलले स्वदेश तथा विदेशमा नेपाली राष्ट्रियताको संबर्धन र नेपाली छविको प्रवर्द्धनमा कवि तथा साहित्यकारहरुको महत्वपूर्ण भूमिका रहने भएकोले आगामी दिनहरुमा दूतावासले यस्ता कार्यक्रमहरु आयोजना गर्दै जाने उल्लेख गर्नुभयो।  कवि वसन्त श्रेष्ठले वासिङ्टन डि.सी. क्षेत्रको कविता गोष्ठीको इतिहासबारे संक्षिप्त प्रकाश पार्नुभएको थियो ।  गोष्ठी सञ्चालनका क्रममा कवि गोविन्द गिरी प्रेरणाले युवक कवि मोतीराम भट्टको व्यक्तित्वका विविध पाटाबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रममा उपस्थित कविहरूलाई दूतावासका इकोनोमिक काउन्सेलर युगराज पाण्डेले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यवाहक राजदूत खरेलले कविता वाचन गर्ने कविहरूलाई सम्मानपत्र पनि प्रदान गर्नुभएको थियो।