Passport: Frequently Asked Questions


Passport

पासपोर्ट, यात्रा अनुमतिपत्र सम्बन्धमा बारम्बार सोधिने प्रश्नहरु

प्रश्न: पासपोर्टको बहाल अवधि कति बाँकी रहँदा नविकरणका लागि मैले राजदूतावासमा आवेदन गर्नुपर्ने हुन्छ?

उत्तरः आवेदकको पासपोर्ट बहाल अवधि एक वर्ष भन्दा कम बाँकी रहेमा नविकरणका लागि आवेदन गर्न सकिन्छ। पासपोर्टको म्याद सकिएपछि वा सकिनै लाग्दा नविकरणका लागि आवेदन गर्नु भन्दा पासपोर्टको म्याद सकिनुअघि नै नयाँ पासपोर्ट प्राप्त गर्ने गरी नविकरणका आवेदन गर्न राजदूतावास सबै सेवाग्राहीलाई अनुरोध गर्दछ।

प्रश्न: मेरो पासपोर्ट नविकरण गर्नुपर्ने थियो, त्यसका लागि के गर्नु पर्छ?

उत्तर: पासपोर्ट नविकरण (पाना सकिएको, बहाल अवधि १ वर्षभन्दा कम रहेको) गर्नका लागि निम्नानुसारका कागजातसहित राजदूतावासमा आफैं आएर आवेदन गर्नुपर्ने हुन्छ, तर कोभिड-१९ ले सृजना गरेको असामान्य परिस्थितिले गर्दा अर्को व्यवस्था नभएसम्मका लागि हाललाई हुलाकबाट आवश्यक कागजात पठाएर आवेदन गर्न सकिन्छ। 

१. कम्प्युटरबाट भरिएको फोटो सहितको पासपोर्ट फर्म (https://nepalpassport.gov.np/wp-content/uploads/2016/01/form2-4mv2-1.pdf) -२ प्रति ( Paper-A4 Size, Scale-None, while printing) ।

२. हालको पासपोर्टको सक्कल र सोको प्रतिलिपि- १ प्रति ।

३. नागरिकताको सक्कल र प्रतिलिपि- १ प्रति ।

४. पासपोर्ट नविकरण दस्तुर- अमेरिकि डलर १५० (तर १० वर्षभन्दा मुनिका नाबालकको हकमा अमेरिकी डलर ७५ लाग्नेछ।)

५. पासपोर्ट तयार भएपछि आवेदकलाई पठाउन पहिलेनै पैसा तिरीसकेको आफ्नो पूरा ठेगाना लेखेको फिर्तिखाम (Self Addressed Prepaid Return Envelope)।

साथै, फर्म नमोडिइएको, कच्याककुचुक नभएको र फोल्डरमा हालेर आवेदन गर्नुपर्ने छ।

तर, MRP नलिएका हस्तलिखित पासपोर्टबाहकको हकमा भने https://online.nepalpassport.gov.np/PreEnrollment/home.html  लिङ्कमा गई रीतपूर्वक फाराम भरी प्रिन्ट गरेर प्रत्यक्ष दर्ता (Live Enrolment) का लागि हस्तलिखित पासपोर्ट र नागरिकताको सक्कल तथा सोको एक-एक प्रति प्रतिलिपि, पासपोर्ट नविकरण दस्तुर- अमेरिकी डलर १५० सहित दूतावासमा अनिवार्य स्वयम् उपस्थित हुनुपर्नेछ।

प्रश्न: मेरो पासपोर्ट हरायो, मैले नयाँ पासपोर्टका लागि  कसरी आवेदन गर्ने? 

उत्तर: पासपोर्टको सक्कल हराएका आवेदकले पासपोर्टको प्रतिलिपि, नागरिकताको सक्कल र सोको प्रतिलिपि र दोब्बर दस्तुर अर्थात् अमेरिकि डलर ३०० सहित आवेदन गर्न सक्नेछन्।

प्रश्न: मेरो पासपोर्ट लुगा धुँदा मेशिनमा परेर धोइयो/च्यातियो वा केरमेट भयो। मैले कसरी पासपोर्ट आवेदन गर्ने?

उत्तर: आवेदकले त्यस्तो धोइएको/च्यातिएको/क्षती भएको पासपोर्ट, नागरिकताको सक्कल र सोको प्रतिलिपि र दोब्बर दस्तुर अर्थात् अमेरिकि डलर ३०० सहित आवेदन गर्न सक्नेछन्।

प्रश्न: मेरो नागरिकताको प्रमाणपत्रको सक्कल छैन, म संग फोटोकपि मात्र छ, मैले यो भन्दा अगाडि यही राजदूतावासबाट पासपोर्ट लिइसकेको अव MRP आवेदन गर्न चाहन्छु, के गर्ने?

उत्तर: पासपोर्ट नविकरण गर्न नागरिकताको सक्कल अनिवार्य प्रस्तुत गर्नुपर्ने हुन्छ। तर, नागरिकताको सक्कल नभएमा तपाईको नागरिकताको प्रमाणपत्रको आधिकारिकता राजदूतावासले  नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाबाट पासपोर्ट विभाग मार्फत वुझ्नेछ। त्यस्तो नागरिकताको आधिकारिकता प्रमाणित भएपछि मात्र आवेदन राजदूतावासले स्वीकार गर्नेछ।

प्रश्नः पासपोर्ट फर्म भर्दा के-के कुरामा ध्यान पुर्याउनु पर्छ?

मुख्यतः पासपोर्ट फाराम भर्दा आफ्नो नाम, थर, जन्मस्थान(जिल्लाको नाम मात्र), जन्म मिति (नेपाली र अङ्ग्रेजीमा), पुरानो पासपोर्ट नम्बर, जारी मिति, जारी भएको स्थान (जिल्ला वा दूतावास/कन्सुलेट रहेको शहरको नाम), नेपालको स्थायी ठेगाना (जिल्ला, नगरपालिका/गाउँपालिका, वडा नं र टोल/गाउँको नाम) प्रष्ट खुल्ने गरी, हिज्जे (spelling) फरक नपर्ने गरी भर्नुपर्नेछ।

राजदूतावासमा प्राप्त हुने फर्महरुमध्ये धेरै फर्महरुमा विवरण ठिकसँग नभरी वा रुजु नै नगरी पठाएको देखिन्छ। पासपोर्ट फर्म भर्दा पहिलेनै पासपोर्ट नविकरण गरिसकेका साथीभाई, आफन्तसँग सल्लाह/सहयोग लिनु उपयुक्त हुन्छ। फर्म पठाउनु अघि एक/दुई पटक राम्रोसँग पढेर विवरण रुजु गरेर मात्रै पठाउनु उपयुक्त हुन्छ। फर्म भर्दा ध्यान दिनुपर्ने विस्तृत विवरणका लागि तलको Link मा गई हेर्नुहोस्।

https://us.nepalembassy.gov.np/mrp-instruction-nepali/ 

प्रश्नः पासपोर्ट फर्म प्रिण्ट गर्दा के के कुरामा विचार पुर्‍यानु पर्छ?

सबैभन्दा महत्वपूर्ण कुरा आवेदकले भरेको पासपोर्ट फाराम A4 size (29.7cmx21cm) मै प्रिण्ट गर्नुपर्ने हुन्छ। संयुक्त राज्य अमेरिकामा चलन चल्तिमा रहेको Letter size र Legal size का पेपर प्रयोग गरेर प्रिण्ट गरिएको पासपोर्ट आवेदन फर्म राजदूतावासले स्वीकार गर्दैन। A4 size को पेपर निर्क्यौल गरेर मात्रै पासपोर्ट आवेदन फर्म राजदूतावासमा पठाउनुहोला।

राजदूतावासमा प्राप्त हुने फर्महरुमध्ये करिब ७० प्रतिशत भन्दा बढी फर्महरु साइजकै कारणले अस्वीकृत हुँदै आएको छ। अतः प्रिण्ट गरिसकेपछि साइज मिलेको नमिलेको फारामको प्रिण्ट भएको भाग (printed area) को लम्बाई 27cm र चौडाई 18.5 cm हुन्छ। (यो भनेको पेपर साइज होइन, मात्र प्रिण्ट हुनुपर्ने भाग (print area) को लम्बाई/चौडाई मात्रै हो)

फर्म प्रिण्ट गर्दा Print Setting को ‘Scale’ को Option मा गएर “None” वा “Actual Size” छनौट गरेमा मात्रै फर्म साइज मिल्दछ, नत्र मिल्दैन।

मिलेको फारामको नमुना यस्तो छः

Correct Size MRP Form Sample

प्रश्न: MRP फर्म फोटोकपी गरेर प्रयोग गर्न मिल्छ मिल्दैन?

उत्तर: MRP फर्मको दुवै प्रति कम्प्युटर प्रिन्ट गरेको हुनु पर्दछ। फोटोकपि गरेर प्रयोग गर्न मिल्दैन।

प्रश्न: के फोटोको साइजको कुनै मापदण्ड छ? 

उत्तर : पासपोर्टको फोटोको लागि निश्चित मापदण्ड छ, सो यस प्रकार छः

फोटोको size 35mmx45mm dimension हुनुपर्छ जसमा अनुहारले करिब ७० प्रतिशत भाग ओगटेको हुनुपर्छ।

दुवै कान प्रष्ट देखिएको, आँखा बन्द नगरी सिधा अगाडी हेरिएको,  निधार नछोपिएको,  Photoshop नगिरएको अर्थात् प्राकृतिक अनुहार देखिएको, सेतो पृष्ठभूमीमा खिचिएको, कुनै पनि गरगहना नलगाएको, श्रृङ्गार नगरेको, प्राकृति अवस्थामा बाहेक दाँत नदेखिएको फोटो खिचाउनुपर्नेछ। तर, सांस्कृतिक तथा धार्मिक कारणले लगाउनैपर्ने पहिरन, श्रृङ्गार भने लगाउन सकिनेछ।

फोटो सम्बन्धी थप विवरणका लागि तलको link मा गई हेर्नु होला।

https://nepalpassport.gov.np/wp-content/uploads/2016/01/ICAO-Template.pdf 

Correct Photo Sample

प्रश्नः पासपोर्ट नविकरणबापतको दस्तुर नगद/चेक/अनलाइन भुक्तानी गर्न मिल्दैन?

उत्तरः मिल्दैन। पासपोर्ट आवेदनसँगै आवेदकले नविकरण बापतको दस्तुर नेपाली राजदूतावास वाशिङ्गटन डि.सि. को नाममा मनी अर्डर बनाई पठाउनुपर्ने हुन्छ। मनि अर्डरमा ‘Embassy of Nepal, Washington, D.C.’ उल्लेख गर्नुपर्नेछ।

Money Order/Cashier’s Cheque Sample

प्रश्नः मेरो फाराम राजदूतावासमा पुगेको नपुगेको मैले कसरी थाहा पाउने?

सम्बन्धित आवेदकले राजदूतावासको वेबसाइट www.nepalembassyusa.org मा Homepage मै रहेको Submit Your Details भन्ने पेजमा गएर तोकिएको विवरण भर्नुपर्ने हुन्छ। यसो गर्नाले तपाईंको विवरण राजदूतावासको system मा updated हुन्छ। आवेदन प्राप्त हुने बित्तिकै राजदूतावासले सोको जानकारी system मा update गर्छ र आवेदकलाई मोबाइलमा “New Update” भन्ने message प्राप्त हुनेछ। त्यसैगरी वेबसाइटको Homepage मै रहेको “Check Your Application Status” मा गई आफ्नो आवेदनको status हेर्न सकिनेछ।

प्रश्न: मेरो फर्म मिले नमिलेको जानकारी कसरी पाउन सक्छु?

उत्तर: राजदूतावासमा तपाईंको निवेदन प्राप्त भएपछि आवश्यक कागजात पुगे नपुगेको जाँच गरी नपुगेको भए दूतावासबाट तपाईंलाई टेलिफोन/इमेलमार्फत् सम्पर्क गरिनेछ। सोको जानकारी आवेदकले वेबसाइटको Homepage मै रहेको Check Your Application Status मा गई समेत हेर्न सक्नेछन्। फर्म नमिलेमा जुन माध्यमबाट फर्म प्राप्त भएको हो सोही माध्यमबाट फिर्ता पठाइनेछ ।

प्रश्न: आवेदन गरेको कति समयमा मैले नयाँ पासपोर्ट पाउन सक्छु? मेरो पासपोर्ट बने नबनेको कसरी थाहा पाउने?

राजदूतावासले हुलाकबाट प्राप्त आवेदनहरु संकलन गरी छपाईका लागि साधारणतयाः २५ दिनको अन्तरालमा कुरियरमार्फत् पासपोर्ट विभाग, काठमाडौंमा पठाउँछ। त्यहाँबाट पासपोर्ट छपाई भएर आउन करिब एक देखि डेढ महिना लाग्दछ। यो हिसाबले आवेदकले आवेदन स्वीकृत भएको करिब महिनाभित्र नयाँ पासपोर्ट पाउन सक्दछन्। पासपोर्ट बनेर आउने बित्तिकै राजदूतावासले आफ्नो system मा update गर्नेछ। आवेदकले वेबसाइटको Homepage मै रहेको Check Your Application Statusमा गई पासपोर्ट बनेको जानकारी प्राप्त गर्न सक्नेछन्।

प्रश्न: मैले पासपोर्ट फर्म भरे पछि मेरो हालको पासपोर्ट, नागरिकता कसरी फिर्ता पाइन्छ?

उत्तर: राजदूतावासमा आफैं आएर फर्म भर्नेहरुको पासपोर्ट सक्कल र नागरिकताको सक्कल पासपोर्ट फर्मको विवरणमा रुजु गरे पछि तुरुन्त फिर्ता पाइन्छ। हुलाकबाट फर्म पठाउनेहरुको पासपोर्ट, नागरिकताको सक्कल MRP वनेर आएपछि MRP सहित दिइने छ। तर, आवेदकले अनुरोध गरेमा जुनसुकै बेला राजदूतावासले सक्कल नागरिकता र पासपोर्ट फिर्ता गर्नेछ।

प्रश्न: पासपोर्ट सम्वन्धी जिज्ञासाहरु टेलिफोनबाट पाउन सकिदैन?

उत्तर: राजदूतावासको कार्यवोझ, सीमित कर्मचारी संख्याका कारण सबै सेवाग्राहीहरुको पासपोर्ट सम्वन्धी गुनासो फोनमा दिन व्यवहारिक कठिनाइ छ। पासपोर्ट, यात्रा अनुमतिपत्र सम्बन्धी कुनै गुनासा, प्रश्न भएमा फोनको साथसाथै राजदूतावासको कन्सुलर शाखाको इमेल ठेगाना consular@nepalembassyusa.org मार्फत् सम्पर्क गर्न राजदूतावास सबै सेवाग्राहीलाई हार्दिक अनुरोध गर्दछ।

प्रश्न: पासपोर्ट वनेर आएको जानकारी पाए पछि पासपोर्ट लिन आफै आउनु पर्दछ?

उत्तर : पर्दैन। तर, आफैंले बुझेर लग्न चाहेमा दूतावासमा स्वयम् उपस्थित भई बुझेर लग्न पनि सकिन्छ। MRP वनेर आए/नआएको राजदूतावासको वेबसाइटको Check Your Application Status बाट जानकारी पाउन सकिन्छ।

प्रश्न: के पासपोर्ट फर्ममा इमेल र टेलिफोन नंवर उल्लेख गर्न जरुरी छ?

उत्तर: आवश्यक परेको बेलामा सम्पर्क गर्न सकियोस भनेर इमेल र टेलिफोन नम्बर उल्लेख गर्न भनिएको हो।

प्रश्न: म पासपोर्ट आवेदन गर्न चाहन्छु। तर मेरो अर्को महिना निजी कामको लागि अन्य मुलुक जानुपर्ने हुनाले मैले के गर्दा हुन्छ?

उत्तर: राजदूतावासमा आफैं आएर MRP फर्म वुझाउनु हुनेहरुको पासपोर्टफर्म  र नागरिकताको विवरण रुजु गरे पछि तुरुन्त फिर्ता दिइने हुनाले वहांहरुले आफ्नो नियमित काम गर्न सक्नु हुने छ। तर हुलाकबाट फर्म पठाउनेहरुको पासपोर्ट र नागरिकता MRP बनेर आए पछि मात्र पठाइने छ।  तर MRP आवश्यक छ भनी निवेदकले माग गरेमा फिर्ता दिन सकिनेछ। नयाँ पासपोर्ट बनेर आए पछि उक्त पासपोर्ट प्राप्त गर्न भने पुरानो पासपोर्ट दूतावासमा पठाउनै पर्ने हुन्छ।

प्रश्न: मेरो अन्य मुलकको भिसा हालको पासपोर्टमा छ। नयाँ पासपोर्ट वने पछि त्यो भिसा के हुन्छ?

उत्तर : पासपोर्ट र भिसा अलग अलग चिज भएको हुनाले तपाईको पुरानो पासपोर्ट रद्द भएपनि त्यसमा भएको भिसा आफ्नो अवधि सम्म कायम रहन्छ। तर त्यो भिसा प्रयोग गर्नुपर्ने स्थितिमा भिसा भएको पासपोर्ट र नयाँ पासपोर्ट संगसंगै लिएर हिँडनुपर्ने हुन्छ।

प्रश्न: मैले मेरो पुरानो भिसा भएको पासपोर्ट र नयां पासपोर्ट संगसंगै वोकेर हिडन मिल्छ र?

उत्तर: राजदूतावासले तपाईलाई नयाँ पासपोर्ट दिने समयमा तपाईको पुरानो पासपोर्टमा Cancelled Without Prejudice” भनेर छाप लगाउँछ। जसले गर्दा तपाईको पुरानो पासपोर्ट खारेज भएता पनि त्यहाँ भित्र भएका विवरण, भिसाहरु यथावत रहेको मान्यता दिन्छ। यो अन्तर्राष्ट्रिय प्रचलन हो।

यात्रा अनुमति पत्र

प्रश्नः म नेपाली नागरिक हु। म सँग पासपोर्ट र नागरिकताको सक्कल छैन। मेरो पासपोर्ट हरायो, नासियो/झूत्रो भयो तर मलाई तत्काल नेपाल जानुपर्नेछ। अव नेपाल र्फकनु पर्यो, के गर्ने?

उत्तरः आवेदक आफूसँग भएका कागजातहरुसहित राजदूतावासमा उपस्थित भएर वा पासपोर्ट र नागरिकताको प्रतिलिपिसहित हुलाकबाट निवेदन पठाएमा राजदूतावासले कागजातको अध्ययन गरी एकतर्फी यात्रा अनुमतिपत्र जारी गर्न सक्नेछ।